आहट(कथा)

              
`बाबा !´ चिच्याहटको स्वर मेरो कानमा पस्यो।म भर्खर निदाउने प्रयत्नमै थिएँ;मनमा चिसो पस्यो।झल्याँस्सै ब्युझिएँ तर आँखा भने उघ्रेनन।एकछिन ध्यान दिएर सुनेँ।वरपर कुनै चहलपहलको पत्तो पाइनँ भनौँ ठम्याइनँ।`सपना पो हो कि?´आफ्नै कानप्रती विश्वास थिएन मलाई।झ्याल खोलेर बाहिर हेरेँ।श्रावणको कालो रात झिमझिम पानी परिरहेथ्यो।मलाई स्पष्टैसंग याद छ बादलले घुम्म आकाशमा पनि एउटा तारा टिलपिलाई रहेको थियो। वरपरको वातावरण शान्त,नीरव रात अनि निस्प्ट्ट अँध्यारोमा चम्किइरहेको त्यो तारा! मलाई हेर्दै थियो त्यो तारा ,पक्कै मलाई।परमलोक पुगेपछी मान्छेहरु नि तारा बन्छन रे,कतै मेरा परमपुर्खा त हैनन मलाई हेरेका? मनमा प्रश्न उठेथ्यो।
                      `प्लिज डन्ट डु दिस´ फेरि एक महिलाको आवाज मेरो कानमा पस्यो। म हतारिएँ।एकछिन त मुटुले कामै गर्न छोडेझैँ भयो। हातगोडा लुगलुग काँपे।मुटुको धड्कनले प्रतिमिनेट पचासको झड्का हानिरहेको भान भयो।मन संभालेर आवाजतिर केन्द्रीत भएँ।कोहि सुँक्सुकाएझैँ,घरी चिच्याएझैँ त घरी रोइरहेझैँ आवाज आइरहेथ्यो।तर त्यो आवाज कता बाट आइरहेथ्यो मैले मेसो पाउन सकेको थिइनँ।करिब एक मिनेट घोरिएपछि ठम्म्याएँ-`देउराली भिर´तिर बाट!
              म जन्मिनु भन्दा पहिले त्यहाँ घना जंगल थियो रे।दाउरा बोक्ने,घाँस काट्ने अझ चरिचराउ पनि त्यही वनले धानेको थियो रे।तर अहिले देउराली डाँडोले आफ्नो स्वरुप बदलेको थियो।सवारी साधनले दिनैभरि खाली हुँदैनथ्यो,पहिले मान्छेहरु एक्लै हिड्न सम्म पनि डराउने ठाउँमा अहिले घनावस्ती थियो।महत्वपुर्ण कुरा त जंगलबाट गाउँ बनेको थ्यो-देउराली भिर।
मानिसहरुले त्यहाँका चराचुरुङ्गी बाहेक केही बाँकी राखेका थिएनन।अब त ती चराचुरुङ्गी पनि सुरक्षीत वासस्थान खोज्दै उड्दै गर्न लागिसकेका थिए।निरपेक्ष संरक्षणको ज्वलन्त उदाहरण अनि नेपालको दिगो विकास पद्धतिलाई समग्रमा लोप्पा ख्वाइरहेथ्यो-देउराली भिर!
हिजोको त्यो देउराली भिर मैले देखेको त थिइनँ तर अरुहरुका कुरा सुन्दा मात्रै पनि शरिरका रौँ ठाडिन्थे तर आज म सुनिरहेथेँ देउराली भिरलाई आफ्नै कानले।बच्चाबेलामा डराउनको लागि भनिने किचकन्नि आज साँच्चै मेरो घर पल्तिरको देउराली भिरमा आएकी थिइ।भलै त्यो मान्छे थिइ तर म अड्कलबाजी गर्दै थिएँ-`अब एकैछिनमा त्यो किचकन्नी यहाँ आइपुग्छे´।शरीर आफै बढ्न थालेको थियो।आफैलाई अर्धचेत अवस्थामा पाउँंदैथिएँ म।एक्कासि पुरुष मान्छेको चिच्याहट सुनियो।`किचकन्निले खाइ क्यार!´ मन झनै त्रसित बन्यो।म एस्तो त्रासदिपुर्ण वातावरणमा सास फेरिरहेथेँ कि न झ्याल बन्द गर्न हात अगाडि बढाउन सक्थेँ न त देउराली भिरतर्फ आफ्ना पाइला बढाउन सक्थेँ।
`चुरा लगायो भने किचकन्निले केही गर्न सक्दिन रे´ आमाको वाक्य भनौँ अमृत वाक्य याद आयो।हत्तपत्त दराज खोलेर सुस्मिताका चुरा लगाएँ।सुस्मिता-मेरि श्रीमती,जो कान अलि कम सुन्छे तर अक्सर मान्छे हत्तपत्ती यो कुरा थाह पाउँदैनन।एक पतिव्रता र कर्तव्यनिष्ठ नारी -मेरि श्रीमती,मस्त निद्रामा थिइ।मैले उस्को निद्रा बिथोलिनँ।
                                 सानो छाता लिएर म निस्किएँ।देउराली भिरतिर लम्किएँ।मन त्रासका साथै कौतुहलताले भरिपुर्ण थियो।म जतिजती अगाडि बढ्थेँ उतिउती चिच्याहट्को आवाज बढिरहेको भान हुन्थ्यो।फलामले फलामलाई ठोकेझैँ आवाज आइरहेथ्यो `काटाकाट हुँदैछ कि?´ मनले प्रश्न गर्थ्यो।कुरुक्षेत्रको युद्द चलिरहेझैँ चिच्याहट थ्यो।म नजिक पुग्दै थिएँ।आवाज झन ठूलो ठूलो सुनिदैथियो तर पहिले भन्दा दुर्बोध्य र झनै बढी अस्प्ष्ट।क्षितिजतिर बिजुली चम्कियो,एक्चोटी जोडले आकाश गडगडायो।होस-हवासै उडाउने गरि।क्षितिजतिर फर्केर हेरेँ।अँध्यारो शिवाय केही देखिनँ।आकाशतिर मुन्टो फर्काएँ।अघि टिलपिलाउँदै गरेको तारा हराएको थियो।बादल झन घुम्म परेको थियो।आफ्ना पाइला अगाडि बढाएँ-डराउँदै,डराउँदै!
                   एउटा सल्लाको रुखमा अडेस लागेर चारैतिर नजर डुलाएँ।पानी अघिभन्दा जोडले झरिरहेथ्यो।छातामा आउने पिट्पिट आवाजले अरु आवाजलाई फिका तुल्याएको थियो।अलिक पर कतैबाट उँज्यालो आएझैँ लाग्यो तर विलकुल मधुरो।त्यो ज्योती म भएतिर बढिरहेथ्यो,म भन्दा अलिक पर अगाडितर्फ पुगेपछी अडियो।बत्ती जलिरहेकै थियो,चिच्याहटमा अर्को आवाज थपियो `भ्वात्त´। मोटरसाइकल रहेछ गर्ल्याम्मै ढल्यो।मोटरसाइकलको हेडलाइट बलेकै थियो।दुई-तीन जना मान्छे दौडिरहेका थिए घरी छेउतिर घरी घारितिर।अलिक नजिक गएँ।
     म एकाएक हतास भएँ।उभिएको धरती फनफनी घुम्यो।टाउकाले आफ्नो बोझ आफैले उठाउन सकेन।धरतिसँगै आँखापनी फन्फन्ती घुम्न थाले।मेरो आँखाले अत्यन्तै भयानक दृष्य देखिरहेका थिए जुन फिल्मी दुनियाँमा मात्रै देखिन्छ।एकजना अधबैंसे आइमाइलाई हतकडिले कारनिर बाँधिएको थियो।उस्तै उमेरको एकजना पुरुष हातमा चक्कु जस्तै धारिलो हतियार लिएर आफैलाई काट्न खोज्दैथियो।म अचम्मित थिएँ।आँखाहरु आफैप्रती विश्वस्त बन्न सकेका थिएनन।बरु उल्टै त्यो दृस्य हेरिरहने ल्याकत सम्म गुमाइसकेका थिए। म `ब्लर´ पर्दामाझैँ देख्दैथिएँ-एकजना केटिमान्छे त्यो पुरुषलाई रोक्दै थिइ।त्यो मान्छे आत्महत्या गर्न चाहान्थ्यो सायद तर उ आफ्नो खुट्टा काट्न खोज्दै थियो-म अचम्मित थिएँ।मेरै आँखा अगाडि उस्ले आफ्नो खुट्टो छुट्यायो।एकचोटी जोडले चिच्यायो-`लुक एट मि माइ गड! नाउ आइ एम अल्सो एम्प्युटिड!´
अघि त्यो पुरुषमान्छे लाई रोक्न खोज्ने केटि सायद उस्कि छोरी थिइ।उ ढ्ङरङ्ग ढली।आफ्नो पीताको त्यो हालत टुलुटुलु हेरेर बस्न सक्ने शक्ति सायद भगवानले कसैलाई पनि दिएका हुँदैनन,उस्ले पनि टुलुटुलु हेरिरहन सकिन।कुनै निर्जिव वस्तुझैँ,प्राणविनाको रुख झैँ गर्ल्याम्मै ढली।बेहोसिमा ढली।तर छेवैमा बसेकी  उस्कि आमा-मौन थिइ।सबै घटना देखेर पनि नदेखेजस्तै।मानौँ उस्मा कुनै संवेदना छैन।इमोसन छैन।ज्यान छ तर मन छैन।मन भएपनि त्यसलाइ जिवन्तता दिने जीवन छैन।रगतको खोलो बग्यो तर उस्को आँशुको एक थोपा पनि खसेन।या त शल्य पीडाले उस्को मन-मुटु जाम थियो मैले बुझ्न सकिनँ।
आफैलाई कुनै चलचित्र घरमा छु कि झैँ लाग्थ्यो बेला बेला तर याद भैहाल्थ्यो म हकिकतमा एउटा भयावह देख्दैथिएँ।म दोधारमा थिएँ।नजिक जाने या नजाने? जाउँ भने भोलि पल्ट अपराधी ठहरिएर जेल परिएला भन्ने डर नजाउँ भने मभित्रको मानवताले  आफैलाई गिज्ज्याइरहेको म सहन सक्दिनथेँ।म हेर्दैथिएँ एकाएक कारको ढोकामा बाँधिएकी आइमाइले आफ्नो हातको हतकडी फुकाई।लर्खराउँदै उस्को बूढो भएतिर आउँदै थिइ,बाटोमै `भ्वात्त´ लडि।उठ्ने हिम्मत र साहस सायद गुमाइअसकेकी थिइ,घस्रीदै अघि बढ्न थाली।मनमा गाँठो पर्यो।छातिभन्दामुनी बेस्सरी चस्कियो।भक्कानो छोडेर रुन मन लाग्यो।म उनिहरुमा आफुलाई देख्दै थिएँ।आफ्नो प्रतिमुर्ती उनिहरुको सपरिवारमा स्थापित थियो।उनिहरुको पीडामा मेरो मन भक्कानिँदै थियो।रक्त सम्बन्धले मात्रै मानिस आफ्नो र पराइ हुँदैन रहेछ,कुनै भावनात्मक वा संवेगात्मक सम्बन्धले पनि नङ र मासु जस्तै नजिक बनाइदिँदो रैछ मान्छेलाई।
   मनमनै फैसला गरेँ-` उनिहरुको सहयोग गर्छु´।म आफ्ना पाइला अगाडि बढाउनै लागेको थिएँ,अर्को एक भयानक दृष्यले मेरा आँखा छोप्यो।होस-हवासै उड्यो।जड्झैँ ठिङ्ग उभिइरहेँ म।म मा भएको प्राण उडेर कतै टाढा गैसकेको थियो बाँकी विलकुल खोक्रो शरीर-बिना संवेदनाको!
     त्यो अधबैंसे आईमाई आफ्नो श्रीमानको चुँडिएको खुट्टो काँचै खाइरहेकी थिइ।भोकाएकी सिंहिनी झैँ।लुछ्दै लुछ्दै खाइरही,चपाइरही।लुँडो श्रीमान छेवैमा घरी रुन्थ्यो घरि हाँस्थ्यो घरी कामुक नजरले श्रीमतिलाई घुर्थ्यो।चिच्याउँदै थियो-`ओ गड व्हाट्स ह्याप्निङ? सि इज नट् एम्प्युटिड!´
एकाएक जुरुक्क उठ्यो,हतारिएझैँ।कतै पुग्न ढिला भैरहेझैँ।दौडिन खोज्यो तर एउटा मात्रै खुट्टाले जमिनमा ब्यालेन्समा टिकिरहन सकेन,ढलिहाल्यो।फेरि प्रयत्न गर्यो,ढल्यो।पाँचौ पटकमा बल्ल बल्ल अडियो।खै के को पो हो,आफूजत्तिकै अग्लो लठ्ठीको सहारामा चार पाइला अगाडि बढ्यो।हुत्तिदै दौडियो।एकाएक भिरको छेउबाट तलतिर खस्यो।उस्ले आफ्नो जीवनयात्रा समाप्त गरिदियो-निमिषमै!
     म झनै भयभित थिएँ।मासु लुछ्दै गरेकी आइमाइतिर बलजफ्ती मुन्टो बटारेँ।आफ्नै धुनमा थिइ उ।मलाई नजिक जान डर लागिरहेथ्यो तर पनि हिम्मत बटुलेर नजिक पुगेँ।`सिस्टर´ मेरो पहिलो शब्द,तर उस्ले सुनिन या वास्ता गरिन।दोस्रोपटक बोलाएपछी  शशंकित मुद्रामा आफ्नो टाउको उठाउँदै तिरस्कृत नजरका वाण फ्याँकी।जुरुक्क उठि।रगताम्य आफ्नो थुतुनो म तिर अघि बढाई।सायद अंगालोमा बाँध्न खोज्दै छे मलाई-आँकलन गरेँ।निसंकोच आफ्ना हात फैलाएँ।कसेर आलिङ्गनमा टाँसे।घाँटी नीर कट्क्कै टोकि-रगतै आउने गरि।म डराएँ। चिच्याउँदै मैले उस्लाई अंगालोबाट हुत्याइदिएँ।भुइँमा बेस्कन पछारिइ।जुरुक्क उठेर फेरि मै तिर बढी।म भागेँ।उ पछि लागि। मैले छाता त्यहीँ छोडेर आफ्नो वेग बढाएँ।उस्ले पनि बढाई।म दौड्दै जाँदा एउटा छाँगामाथी पुगिसकेको थिएँ।अगाडि मृत्यु शिवाय केही थिएन।हाम फाल्न सकिनँ।पछि फर्केर भाग्ने साहस पनि जुटाउन सकिनँ।अलि पर पुगेर झाडिभित्र पसेँ।
उ सुस्केरा हाल्दै दौडिँदै गरेको आवाजले पार्श्वमा उधुम मच्चाईरहेथ्यो।मेरो मनमा पनि उथुलपुथुल पार्दै थियो त्यो आवाज भनौँ भयावह आवाजले!उ छाँगामाथी पुगि।उस्का पाइलाअडिएनन्,चिप्लेटी खेले पानीसँगै।हुत्तिइ एक सय मिटर अग्लो छाँगोबाट तर विलकुल चिच्याइन।के उस्लाई मर्ने डर थिएन?आफैसँग अनुत्तरित प्रश्न गरेँ।झाडी बाहिर निस्किएँ। वरपर टर्च लाएर नियालेँ छाँगाको तल्लो भागतिर पनि।भ्रमर छिद्रमा  उस्को लास तैरिरहेको थियो।
      म देउराली भिर तर्फ लागेँ,पुगेँ।त्यहाँ अघि रोकेर राखेको कार थिएन अनि त्यो बेहोशिमा ढलेकी केटि पनि थिइन।चारैतिर नियालेँ।बेवारिशे झै मिल्काइएको एउटा सानो लेडिज ह्यान्डब्याग देखेँ।खोलिहालेँ।प्लाष्टिकको कागजले केही पोको पारिएको थियो,त्यो पनि खोलेँ।केही फोटाहरु र मेडिकल रिपोर्टहरु फेला पारेँ।तर ठेगाना बिहिन।कसरी हुनसक्छ? मेडिकल रिपोर्ट पनि ठेगाना विहिन? म आफै अचम्मित थिएँ।फोटाबाट स्पष्ट भयो यो ब्याग तिनिहरुकै थियो।
      मेडिकल रिपोर्ट्मा उल्लेख उमेर अनुसार ठम्म्याएँ त्यो केटि मन्जिला थिइ।
उनिहरुको परिवार नै साइकोलोजिकल  र हेरिडिटेरी डिजिज बाट पीडित रहेछ।
बाबू एप्टेम्नोफिलिया बाट पिडित जो आफ्नो अंगछेद आफै देख्न चाहान्थ्यो।
आमा वेन्डिगो साइकोसिस पीडित जो अरुको वा आफ्नै मासु वा रगत चुस्न चाहान्थी।
अनि मन्जिला स्वयम् नार्कोलेप्सी पीडित! जो जुनकुनै संवेग अलिकती मात्रै बढेपनी निदाइहाल्छे!
तर` त्यस दिन मन्जिला ब्युउँझेर कता गै?´ आजसम्म पनि यो अनुत्तरित प्रश्न अक्सर मेरो मनमा खेलिरहन्छ!
एस्तो अवस्थामा पनि मन्जिला सपरिवारलाई डाक्टरकोमा लैजादै थिइ,मैले उस्लाई भगवान भन्दा माथिल्लो दर्जामा स्थान दिएँ।मन्जिलाको परिवारको बारेमा सबै जानिसक्दा `समस्या र समाधान बिचको अड्चन नै जीवन हो´जस्तो लाग्न थाल्यो।मनभित्रका पीडाका अनगिन्ती खातलाई आफ्नै मन भित्रको चिहानमा दफ्नाएर बनावटी हाँसो हाँस्नु पर्ने एउटा कला हो जीवन,अनि साँच्चै खुशी हुनु साटो खुशी भएको प्रीटेन्ड गर्नु नै जीवन हो जस्तो लाग्न थाल्यो।
मैले जीवनको परिभाषा भेट्टाएझैँ लाग्यो।
म द्वारा परिभाषित जीवनको परिभाषाले वेदमा परिभाषित `धर्म,अर्थ,काम र मोक्ष नै जीवन हो´र प्रभु येशुद्वारा परिभाषित-`प्रभुका चरणको आनन्दानुभूती नै जीवन हो´ को परिभाषालाई गिज्ज्याइरहेथ्यो!

0 Comments