तीज (लघुकथा)

शीला विहानै जुरुक्क उठी । हुन त सधैंजसो विहानै उठ्छे । प्राय: ऊ भन्दा ढिलो नै उठ्छु म । हिजो सायद म भन्दा पनि ढिलो सुतेकी हो ऊ । मलाई ठ्याक्कै सम्झना छैन । मेरो चासोको विषय पनि होइन यो हुन त । श्रीमतीले घरमा कतिबेला कुन काम गर्छे त्यस विषयमा म खासै रूचि लिन्नँ । सायद सबै पुरुष यस्तै हुँदाहुन् कि वा म मात्रै .....!

मैले भुसुक्कै बिर्सेको तर शीलाले एक महिना अगाडिदेखि सम्झिन थालेको महान चाड तीज आजै रहेछ । शीला हरेक तीजमा नछुटाई व्रत बस्छे । विहे अगाडि देखि नै बस्न थालेकी रे- राम्रो पति पाऊँ भनेर । म भूसतिघ्रे पाई । देखिहालियो नि - भगवानले उस्लाई दिएको उपहार ! 
अब चाहिँ त्यही म नामक भूसतिघ्रेको आयु लामो होस् भनेर व्रत लिन्छे ।

                   ×××

शीलाको मोबाइल बज्यो । सीताको फोन रहेछ । " शीला तेरो फोन आएको छ । " म बोलेँ । सायद तन्द्रामै । दौडिदै आएर फोन उठाई । दिउँसोमा तीजको नाचमा साक्षात्कार गर्ने द्विपक्षीय सहमति पश्चात् फोन वार्ता सकियो ।

                ×××

सीता , दीपककी श्रीमती । खुङ्खार क्रान्तिकारी । जनआन्दोलनको समयमा लालसेनामा भेट भएर क्रान्तिकारी विवाह गरेका दीपक र सीताले । रगतका हरेक कणमा क्रान्ति र परिवर्तनका डिएनए बोकेका दुवैले । दमन, शोषण, विभेदका गोलीलाई बन्दुकमा भरेर निरंकुुश भनिने   शासकको  कन्चट्मा गोली ठोकी देशमा लोकतन्त्रको वृक्षारोपण गर्न हिंडेका उनीहरू सेना समायोजन पश्चात् सानो पसल गरेर बसिरहेकाछन् ।

              ××× 

दिनभर सीता र शीला सँगै भए होलान् । नाचे होलान् । गाए होलान् । रमाए होलान् । बेलुका शीलाले पूजा सकेर खान दिई मलाई । खाइसकेपछि ऊ भान्छामा के के गर्दै थिई म कोठामा गएँ । अल्छी लागेर फेसबूकको बगैंचामा आफ्ना नजर डुलाउन थालेँ ।
सबैभन्दा सुरुमा उनै सीताको फोटो देखियो- न्यूजफीडमा ।

रातो सारी । महङ्गो हुनुपर्छ  । झ्याप्प हेरेर  त्यही अनुमान लगाउन सकिन्थ्यो । गलामा हार, कम्मर सम्मै पुगेको मोटो र खाइलाग्दो तिलहरी, हातमा उस्तै भयानक शरीरयुक्त बाला, कानमा तरुलका लहराझैं झुम्का, नाकलाई कानसम्म जोड्नका लागि निर्मित सुनैसुनको पहेंलपुरे मार्ग ! 
फोटोको  अलि मास्तिर , सीता घिमिरे लेखिएको नीलो नामको अलिक मुन्तिर कालो टीका जस्तै गरेर टाँसिएको क्याप्सन थियो -
                                   " तीजलाई भड्किलो नबनाऔं; ह्याप्पी तीज- २०७६ "

नीरज दाहाल





0 Comments