त्यो पुरानो बोत्तलमा भरेर राखेको
महिनौँ बासी पिउँछौ विदेशी रक्सी
तर पिउँदैनौ
मेरो सेती गाईले दिएको दूधको एक घुट्को
–मैले तताएर दिएमा
शरीरलाई रक्सीले भन्दा बढी जातले असर गर्छ हो ?
या त
मन पर्दैन तिमीलाई यो देशभित्रका कुनै पनि उत्पादन
याद गर्नू– तिमी स्वयम् पनि यही देशको धर्तीपुत्र हौ ।
आँखामा बोकेर बादल चुम्ने सपना
छातीमा टाँसेर काँसझैँ सेतो हिमाल
गएको हो तेरो दाजु परदेश
फर्कियो
आँखैमा भरेर बादल
टाँसेर हिमालको रङ् कलेजोमा
गर्दै वान्ता मेरो सिन्दूरको रङ् जस्तो पानी.....
चुरोट चुम्दैमा शिखर कहाँ चुमिँदो रहेछ र सफलताको वास्तविक शिखर ?
अचेल आँखाले सेतो रङ् हेर्न मान्दैनन् !
यो चीनिको रङ् हो
दूधको रङ् हो
अँ हिमालको पनि.......
बेचेका हुन् निख्खर सेतो गाईको निख्खर सेतो दूध
गरेर सेतै परिश्रम
आधा वैंशमै भएका हुन्
पीर चिन्ता र परिश्रमले कपालका रौँहरू पनि से.....ता !
अचेल आँखाले सेतो रङ् हेर्न मान्दैनन् !
यो देशको सेतो इज्जतमा नलागोस् दाग भनेर
बसेका हुन् स्वदेशमै
गरेका हुन् परिश्रम
फुलाएका हुन् स्वाबलम्बनका सेता फूलहरू !
भरेपछि शरीरलाई चीनि रोगका काला जिवाणुले
खाँदेका हुन् शरीरभित्र सेता ट्याब्लेट्
चढाएका हुन् नशा नशामा सेतै औषधिहरू
विडम्बना !
सेतो कपडामा लागेको कालो धब्बा
जति धोएपनि सेतो नहुँदो रहेछ....... !
जसरी हुँदैनन्
धुँदैमा गधाहरू– सेता गाई जस्ता ।
अचेल आँखाले सेतो रङ् हेर्न मान्दैनन् !
स्वरोजगारका सेता फूलले जन्माएका सेता गाईका सेतै थुनबाट निस्केको दूध
बेचेका हुन् आफ्नो जीवनकालभर– न्यूनतम मूल्यमा !
नपुगेपछि दूध बेचेर तँलाई पढाउन
चढाएका हुन् लाख बिन्ती– मूल्य बढाउन
नुहाएर सेतो दूधले सेतै शरीरलाई
बगाएका हुन् सडकमा दूधको सेतै रङ्ग..... !
देखेनन् कसैले
न त सुने कसैले.....
बीच सडकमा काढेर सेतो फिँज मरेका हुन् तेरा बा
र भएको हो त्यसैदिन देखि मेरो जिन्दगी पनि से........तो
सेतो कपडामा दाग लगाउन कत्ति सजिलो हुन्छ है !
मलाई दोबाटोमा भेटिने जतिलाई प्रश्न गर्न मन छ —“यो देशमा शिर उठाएर बाँच्न सडकमा अर्काको रगतबगाउनुपर्छ हो ?“
अचेल आँखाले सेतो रङ् हेर्न मान्दैनन् !
आऊ !
ए युगका मान्छे हो आऊ !
भुलेर विगतको तितो इतिहास
समातौँ एक अर्काका हात
जोडेर काँधमा काँध
निकालौँ यौटा सुरिलो भाका
उतारौँ रारालाई श्री कृष्णको बाँसुरीमा
फुकौँ धुन – “ स्वाबलम्बन, स्वरोजगार र परिश्रमको“
र पारौँ मुग्ध हरेक दिन ओजोन तह हुँदै उड्ने
यो देशको नागरिकताधारी
एक हुल माहुरीहरूलाई !
भरेर रक्सीका बोतलमा– फेवाको जल
खापेर चुरोटमा– हिमालको रङ्ग
टाँसेर ब्राउन सुगरमा– यो देशको माटो
छर्केर पर्फ्यूममा– पसिनाको सुगन्ध
चिप्काएर पाल्पाली ढाँकामा– परिश्रमको मूल्य
भिरेर– स्वरोजगारीको खुकुरी
चढौँ सगरमाथाको टुप्पोमा
र फर्फराऔँ
परिश्रमी हातहरूले बनाएका
पसिनाको सुगन्ध मिश्रित
स्वाबलम्बन, स्वरोजगार र परिश्रमको त्रीकोणयुक्त
स्वाबलम्बी देशको – स्वाबलम्बी झण्डा ।
- निरज दाहाल
गोपी’ फिल्मले आयोजना गरेको कविता लेखन प्रतियोगितामा द्वितीय हुन सफल कविता :)
0 Comments