कुनै बगरमा असरल्ल पल्टिएको
एउटा सीमान्तकृत, उपेक्षित र बहिष्कृत ढुङ्गो;
हेर्दैछ- पानी भित्रको अर्को एक ढुंगालाई
जो खेलिरहेछ नदीको कोमल शरीरसङ्ग
जसले मेटाइरहेछ आफ्नो प्यास
आफू खिइएरै भएपनि...!
एकदिन आएर कोही
लियो टिपेर बगरको ढुङ्गो
बडो मिहिनेतले - बदलिदियो आवरण,
मेटिदियो- सीमान्तकृतको धब्बा
च्यातिदियो- नामसित जोडिएको थर
पखालिदियो- बहिष्करणको धूलो
र राखिदियो- लिएर मन्दिरमा ।
आज मान्छेहरू उसलाई फूल चढाउँछन्, अक्षेता लाइदिन्छन्, ढोगेर जान्छन् .....
आखिर भगवान बन्नु भनेको पनि जात बद्ल्नु त रहेछ !
0 Comments