लीलापत्र






पानी मख्ख परेर हाँस्दछ अरे आकाश आएँ भनी


खस्ने आखिर हो धरातल तिरै हल्ला मचाए पनि


ए साथी अब राजनीति नपढा भो बुझ्छु मैले पनि


छेपारो जति उफ्रियोस् गगनमा पुग्दैन कैले पनि । ||||




सत्ता बिस्कुट हो भनेर कमिलो लौ पेट पो भर्दछ


कौवा भो तर अख्तियार बबुरो काकागरी मर्दछ


मेरो पेट सदैव खोज्दछ ढिंडो क्वाँ क्वाँ भयो सुन्दछन्


कोही क्वाप्प हसुर्छ रेल, बिजुली-आँखाहरू बन्द छन् । ||||




आमाको घरमा पसेर रिपुले लुट्दैछ बाक्साहरू


सत्ताकै सपना लिई लडिरहे निर्लज्ज छोराहरू


च्यात्तेको छ लुगा शरीरभरिको औ कोट टाले भयो ?


लागू गर्न सकिन्न कानुन भने च्यातेर फाले भयो । ||||




चश्मा पावरको भिरेर कमिलो हात्ती भयो देख्दछौ


सानो मच्छर डेङ्गु सार्दछ तिमी सानो भनी हेप्दछौ


हेर्छौ चट्ट जहाजबाट धरती के के ढले के बने ?


सोच्दैनौ पछि के म हुन्छु नभमै भूकम्प आयो भने ! |



छन्दः शार्दूलविक्रीडित


प्रस्तुत कविता बागचौर नगर साहित्य समाज,सल्यानको आयोजनामा भएको कविता प्रतियोगितामा प्रथम भएको थियो ।


0 Comments