माया प्लास्टिक हो तताउँछु भनी बाल्यौ दिलैमा धुनी
डल्लो त्यो बलझैँ भयो रबरको त्यै खेल्न थाल्यौ अनि
हावा चल्दछ वेगले तर यहाँ सासै गयो रोकिन
थाल्यो पत्करले घुमाउन धरा तिम्रो विहेको दिन ||१||
जुत्ता छन् जलले भिजाउँछ कता ? भन्दै गए तापनि
गाह्रो हुन्छ कपासझैँ मुटु भिजे बोक्नै सकिन्नन् अनि
तिम्रो जीवन अर्थपूर्ण अब भो थाले खुसी बाँडिन
साँच्चै एटम पड्कियो हृदयमा तिम्रो विहेको दिन ||२||
यौटा हो लुटिने उपाय पिरती लाएर नाफा छ र?
आगोमा सितलो हुने समय त्यो खोजेर पाइन्छ र ?
टाढा भाग्छु भनेँ भुलेर पिरती चल्दैन गोडा किन ?
आँखा बर्सिरहे , डुब्यो जगत यो तिम्रो विहेको दिन । ||३||
पानी झैँ जलकुम्भको घरिघरी बन्थ्यौ सधैँ चञ्चल
यस्तो खै उपहार दिन्छ कसले आगो सितै दम्कल
तिम्रो तोरण टाँगियो चुप बसेँ के सक्छु मैले दिन ?
द्यौताको पनि चाहना छ म मरूँ तिम्रो विहेको दिन । ||४||
मेरो लास मचानमा ढलिरह्यो तिम्रो चल्यो उत्सव
तारा जून म झार्न सक्दिनँ प्रिया झार्ला उसैले अब
रातो रङ्ग भरेर हास्छ सिउँदो थाल्यौ तिमी टल्किन
कालो बादल धुम्म जीवन भयो तिम्रो विहेको दिन । ||५||
तस्वीरः Google
छन्दः शार्दूलविक्रीडित

0 Comments