बुधबार १८ चैत्र, २०७१, आफ्नो लामो समय न्युजिल्यान्ड क्रिकेटलाई समर्पित गरेका डानियल भिट्टोरीले अन्ततः मंगलबार अस्ट्रेलियाविरुद्धको विश्वकप फाइनल क्रिकेट जीवनको अन्तिम खेल भएको बताएका छन्।
‘न्युजिल्यान्डका लागि यो नै मेरो अन्तिम खेल हो र अन्य गर्न यो राम्रो समय पनि हो,’ मेलबर्न क्रिकेट मैदानमा ७ विकेट पराजित भए पनि घर फर्कदा भव्य स्वागत गरिएको न्युजिल्यान्डका पूर्व कप्तान भिट्टोरीले भने, ‘पक्कै पनि उपाधि जित्न सकेको भए धेरै राम्रो हुन्थ्यो। तर यो ६ साता हामीले जे जति प्राप्त गर्यौ, त्यसका लागि म सबैप्रति गौरवान्वित छु।’
‘डानियल भिट्टोरीले विश्वकप फाइनल न्युजिल्यान्डका लागि आफ्नो अन्तिम खेल भएको आधिकारिक रूपमा जनाएका छन्,’ न्युजिल्यान्ड क्रिकेटले आफ्नो टि्वटर पेजमा लेखेको छ। बायाँहाते स्पिनर भिट्टोरी एकदिवसीय बलरको विश्व वरीयतामा १२औं नम्बरमा छन्। उनले विश्वकपमा १५ विकेट लिएका थिए भने अफगानिस्तानसँग १८ रन खर्चेर लिएको ४ विकेट नवौं उत्कृष्ट प्रदर्शन हो। १८ वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा बिताएका ३६ वर्षे भिट्टोरीको संन्यास घोषणा आश्चर्यजनक भने होइन। १९९७ फेब्रुअरीमा १८ वर्षकै उमेरमा भिट्टोरीले इङ्ल्यान्डविरुद्ध खेलेर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। १ सय १३ टेस्टमा ३४.३६ को औसतमा ३ सय ६२ विकेट लिएका उनले ६ शतक र २३ अर्धशतकसहित ४ हजार ५ सय ३१ रन बनाएका छन्। भारतका कपिल देव र इङ्ल्यान्डका इयान बोथामपछि ३ सयभन्दा बढी विकेट लिएर ४ हजार रन पूरा गर्ने भिट्टोरी मात्र हुन्। त्यस्तै उनले २ सय ९५ अन्तर्राष्ट्रिय एकदिवसीय खेलेका उनले ३१.७१ को औसतमा ३ सय ५ विकेट लिएका छन् भने २ हजार २ सय ५३ रन पूरा गरेका छन्। भिट्टोरीले विश्वकप फाइनलमा पिडौलाको मसलमा समस्याका बाबजुद पनि ५ ओभर बलिङ गरेको न्युजिल्यान्डका कप्तान ब्रेन्डन म्याकलमले बताए। उनले बिना विकेट २५ रन दिएका थिए। ‘भिट्टोरी आफ्नौ शैलीमा मैदानमा जान्छन् र आफ्नो काम पूरा गर्छन्,’ कप्तान म्याकलमले भने, ‘सबै शैलीको क्रिकेटका महान खेलाडी अनि टोलीका महत्वपूर्ण सदस्य हामीले गुमाउँदैछौं। उनको रिक्त स्थान पूर्ति गर्न हामीलाई निकै गाह्रो हुनेछ।’ ‘उनको बिदाइलाई हामी भव्य बनाउने छौं र उनको सफलताबाट हामीले धेरै कुरा सिक्नेछौं। उनीसँग खेल्न पाउनु हाम्रो भाग्य हो,’ म्याकलमले थपे।
posted by cricbuzz
0 Comments