'बाउको बिहे' -२ by Niraj Dahal November 09, 2022 अँध्यारो । चकमन्न अँध्यारो । सबैतिर अँध्यारो छ । अँध्यारोबाट नै निस्किन्छ- उज्यालोको माग र आवश्यकताको सवाल । अँध्यारो नभए उज्यालो हुँदैनथ्यो; उज्यालो नभए अँध्यारो रहन्नथ्यो- सायद । छामछुम गरेर मोबाइल भेट्टाउन सक्ने अँध्यारो छ; उठेर सरासर हिँड्न नसकिने उज्यालो छ- कोठामा । म विस्तरामा पल्टिएको छु । सिरानीको ठ्याक्कै अघिल्तिर पर्ने गरी बिजुलीको 'स्वीच बोर्ड' टाँस्सिएको छ- भित्तामा । यो उज्यालो-अँध्यारोको अध्यायको शुरूवातकर्ता त्यही स्वीच बोर्डको बिजुली इन्डिकेटर हो । घरि चहकसाथ बल्छ, घरि मधुरो भइदिन्छ । पालामा बालिएको कपासको बत्ति जस्तो धिपधिप गरिरहेछ- इन्डिकेटर ! सायद- भोल्टेज घटबढ भइरहेछ वा बिग्रिने सुरमा छ इन्डिकेटर वा त्यसको धर्म नै त्यसैगरी बल्नु हो । रातिको पौने बाह्र नै बज्न आँटिसकेछ । नेभिफोर्सको 'डुअल टाइम' घडी हातैमा बाँधिएको छ- नफुकालेरै सुतेछु । बटन 'ए' थिचेर बत्ती बालेँ- घडीको । घडीको सुई घुमेको देखिएन, डिजिटल बोर्डले ११:४७ देखायो । म घडी प्राय: छिटो मिलाउने गर्छु । अहिलेको घडी ७ मिनेट छिटो छ । मैले कसैलाई भेट्नु पर्यो भने वा कसैले मलाई भेट्नुपर्यो ...