'बाउको बिहे' -२

अँध्यारो । चकमन्न अँध्यारो । सबैतिर अँध्यारो छ । अँध्यारोबाट नै निस्किन्छ- उज्यालोको माग र आवश्यकताको सवाल । अँध्यारो नभए उज्यालो हुँदैनथ्यो; उज्यालो नभए अँध्यारो रहन्नथ्यो- सायद । छामछुम गरेर मोबाइल भेट्टाउन सक्ने अँध्यारो छ; उठेर सरासर हिँड्न नसकिने उज्यालो छ- कोठामा ।
म विस्तरामा पल्टिएको छु । सिरानीको ठ्याक्कै अघिल्तिर पर्ने गरी बिजुलीको 'स्वीच बोर्ड' टाँस्सिएको छ- भित्तामा । यो उज्यालो-अँध्यारोको अध्यायको शुरूवातकर्ता त्यही स्वीच बोर्डको बिजुली इन्डिकेटर हो । घरि चहकसाथ बल्छ, घरि मधुरो भइदिन्छ । पालामा बालिएको कपासको बत्ति जस्तो धिपधिप गरिरहेछ- इन्डिकेटर ! सायद- भोल्टेज घटबढ भइरहेछ वा बिग्रिने सुरमा छ इन्डिकेटर वा त्यसको धर्म नै त्यसैगरी बल्नु हो ।
रातिको पौने बाह्र नै बज्न आँटिसकेछ । नेभिफोर्सको 'डुअल टाइम' घडी हातैमा बाँधिएको छ- नफुकालेरै सुतेछु । बटन 'ए' थिचेर बत्ती बालेँ- घडीको । घडीको सुई घुमेको देखिएन, डिजिटल बोर्डले ११:४७ देखायो । म घडी प्राय: छिटो मिलाउने गर्छु । अहिलेको घडी ७ मिनेट छिटो छ । 

मैले कसैलाई भेट्नु पर्‍यो भने वा कसैले मलाई भेट्नुपर्‍यो भने म मेरो घडीलाई सही घडी मानेर समय दिन्छु, समय लिन्छु । नेपालको प्रमाणिक समय भन्दा पनि म ७:०० मिनेट छिटो छु । यसरी म बेलायतको ग्रीनविच समय भन्दा ५ घण्टा ५२ मिनेटले छिटो छु । उफ्फ ! फेरि पढाइ सम्झिन पुगेछु । पढाइले यत्तिको जान्ने, बुझ्ने बनायो फेरि उही पढाइले नै पीडा दिई रहेछ । उफ्फ ! आज अर्को रात पनि नसुतेरै जाने भयो....! 
××××

छामछुम गरेर मोबाइल तानेँ । मोबाइलको पावर बटनलाई 'पुस' गरेँ । वाइफाइ अफ गर्नै बिर्सिएको रहेछु । कम्तीमा सुत्ने बेलामा चाहिँ मोबाइलको वाइफाइ बन्द गरेर सुत्ने गर्छु - म । आज गरेको रहेनछु । बिर्सिएछु । प्राय: छुटाउथिनँ; बानी नै परेको हो मलाई यसको । बानी भन्नु पनि कुनै अम्मलीको अम्मल जस्तै रहेछ । नित्य कर्म जस्तै- जो नगरेसम्म चित्तै नबुझ्ने; अनौठो किसिमको तलतल लागी नै रहने; अदभूत खाले हुटहुटी कायमै रहने ! वाइफाइ बन्द नगरिएकाले होला- मोबाइलको लक स्क्रिनमा म्यासेज तथा, नोटिफिकेसनहरूको हाटबजार लागिरहेको देखियो । "गुड नाइट डिअर !" लेखिएको भाइबर म्यासेज टपमा अडिएको थियो । नीताले पठाएकी थिई - नाम भने 'हार्ट(Heart)' देखाइरहेको थियो, रातो पानको पात सहितको । मैले  उसको नाम त्यही लेखेर सेभ गरेको छु । त्यसैको मुन्तिर 'गुगल प्ले'को एप्स अप्डेट गर्न सुझाव सहितको जानकारी थियो । भाइबरमै अर्को म्यासेज पनि छ - "गुड नाइट पनि नभनी निदायौ है ?" रिसाएको इमोजी सहितको म्यासेज ! यसमा पनि नाम भने 'हार्ट(Heart)' नै देखिएको थियो । मैले, प्रनिसाको नाम पनि उही राखेको थिएँ । तर, रातो पानको पात बाहेक । म्यासेन्जर, स्न्याप्च्याट्, ट्विटर लगायतका म्यासेज र नोटिफिकेसन छरपस्ट थिए । खोइ के झोंक चलेर हो- स्क्रिन स्वाइप गरेर सब्बैलाई एकैसाथ बढारिदिएँ - दायाँतर्फ । म्यासेन्जर, स्न्याप्च्याट्, ट्विटर लगायतको एकएक गरी सेटिङ खोलेँ र सबैको 'नोटिफिकेसन अफ' गरिदिएँ ।

भाइबर खोलेँ । नीतालाई "लभ यू बेब, गुड नाइट" का अक्षर सहित एउटा रातो पानको पातको इमोजी पनि टाँसेर पठाएँ । फेरि, प्रनिसालाई "सरी कान्छु ! भुसुक्कै निदाएछु नि ! शुभरात्रि ।" लेखेर उसैगरी पानको पात समेत थपेर पठाएँ । युट्युब खोलेँ । सर्च बारमा गएर 'फास्ट फल अस्लिप म्युजिक' खोजेँ र पहिलो लिङ्ककै गीत प्ले गरिदिएर मोबाइल सिरानीमुनी घुसारेँ । आँखा चिम्लिएर निदाउने प्रयासमा लागेँ ।

निद्राले उसैपनि अचेलभरि प्यार गर्दैछैन मलाई ! म निद्राको प्यारो छैनँ; निद्रा मेरो प्यारो छैन । आँखामा नीता र प्रनिसा एकैसाथ खेल्न आइरहेछन् । म कस्सो निदाउन खोज्छु, कस्सो प्रज्ञालाई पनि सम्झिन पुगिजान्छ- मस्तिष्क ! प्रज्ञा त अब मेरी आमा भइसकेकी ! कान्छी आमा ! छाती फुलेर आयो, शरीर फत्रक्क गलेझैँ महशुस गरेँ । यताउता फर्किन खोजेँ- फेरि सकिनँ । समय घर्की सकेपछिको पछुतोले बाढी पछिको बाँध जत्तिको पनि काम नगर्दो रहेछ । भावनात्मक उतारचढावको कुनै ठोस रोकथाम वा नियन्त्रण नहुँदो हो त ? हुँदो हो तर, मेरो भावनालाई मैले रोक्न नसकेको हुँला । 

नीता पश्चिमकी केटी हो । सुदूर पश्चिम् । प्रनिसा पूर्वकी - सुदूर पूर्व । यी दुईको भाषा मिल्दैन - नीता चौधरी हो, प्रनिसा राई । दुवैको आ-आफ्नै भाषा छ । नेपाली लवजमा पनि आञ्चलिकताको प्रभाव छ । 
यी दुईको रिवाज मिल्दैन
- नीताले अष्टम्कीमा कृष्ण चरित्रलाई चित्रमा उतार्दा 'मलाई' देख्छे, मलाई लेख्छे; ऊ हरेक अष्टम्कीमा उसले पूजा गरेको निबुवाको भेट्नो काट्न 'रविन' आइदेओस् भन्ने चाहन्छे तर, मैले उसको यो रहर पूरा गरिदिन सकेको छैनँ । 
- प्रनिसाले हरेक उधौलीमा चमर, झ्याम्टा, सिरिलिङ्गेको स्वरसँगै मेरै हात समाएर साकेला नाँच्ने सपना देख्छे । उसको यो सपना पनि अहिलेसम्म अधुरै छ । यी दुईको धेरै कुरा मिल्दैनन् । मिल्छ त केवल- प्रेमी । नीता रविनको प्रेममा छ, प्रनिसा पनि रविनको प्रेममा छ । रविन अर्थात् म ।
×××××× 

प्रज्ञालाई बाले कान्छी आमा बनाएर भित्र्याएको आफ्नै आँखाले देखेपनि एकछिन त भाउन्न भयो । जसोतसो सम्हालिएर बा को पछिपछि लागेर भान्सामा छिरेथेँ । प्रज्ञाले मलाई नचिन्ने कुरा थिएन । मैले लाज, त्राश र आफ्नै लाचारीपनले आफ्नो शीर ठाडो गर्न सकेको थिइनँ । बाले प्रज्ञासित मेरो पहिचान गराए- ऊ हाम्रो जेठो छोरो- रविन ! प्रज्ञाको विस्फारित नजर मेरो अनुहारमा पर्‍यो । दुवै बोलेनौँ । बोल्नलाई शब्दहरू पनि सायद थिएनन् । जो लहरले सो समय पनि लहरियो, बितिगयो । गाउँमा मेरो बसाइ लामो हुने मेरो अनुमान थियो, तर मेरै मन र मस्तिष्कले मलाई बस्न नदिने निर्णय गरे । म हिँड्न सक्थेँ । नहिँड्न पनि सक्थेँ । बालाई मेरो प्रज्ञाको सम्बन्ध थाहा छ वा छैन भन्नेमा म दोधार थिएँ । भनूँ भयो । नभनूँ भयो । रोऊँ भयो । नरोऊँ भयो । खाना खाएपछि मन र मस्तिष्कमा द्वन्द्व भयो; द्वन्द्वको भवसागरमा मन र मस्तिष्क होमिए । निद्राले आराम दिन्छ तर, निद्राका लागि पनि आराम चाहिन्छ । उथलपुथल दिमागी हालतमा निद्रा पर्दैन, नपर्दो रहेछ । ननिदाउँदा ननिदाउँदै कतिबेला निदाएछु - पत्तो पाइनँ ।

भोलिपल्ट बा एक्लै भएको मौकामा मैले बालाई प्रश्न गरेँ - "आमालाई कसरी भेट्यौ त बा ?" नजानिँदो तरिकाले मैले मेरो मनको भयंकर भारीलाई बा को जिब्रामा बिसाएको थिएँ । बाले मलाई एकपटक आफ्नो टाउको उठाएर हेरे । बा ले मलाई सशंकित नजरले हेरेको भान मलाई भयो । दोषी व्यक्तिले कसैगरी पनि आफ्नो आँखाबाट दोष लुकाउन सक्दैन । दोषी व्यक्तिले सबैलाई केवल शंकाको दृष्टिले हेर्छ, सबैलाई अनुसन्धानकर्ता देख्छ, सबैलाई आफ्नो दोषको चिरफार गर्न आएको डाक्टर देख्छ । मैले बालाई मेरो गल्ती (अपराध) समात्न आएको कुनै प्रहरी अधिकारी देखिरहेँ । 
बा लसुनका केस्रा उधारेर घाममा सुकाउँदै थिए । टाउको भुइँतिर पारेर आँखा लसुन राखिएको बोरातिर र हात लसुनका केस्रातिर केन्द्रित गर्दै बा बोले - "तेरो ठूल्बाको छोरो हरिले भेटाइदिएको !"  बा को मुखबाट उत्तर झर्न नपाउँदै मैले प्रश्न तेर्स्याइहालेँ- कहाँ बा ? उसले कसरी भेटेछ ? किन यहीँ लिएर आएछ ? मेरो प्रश्नको रफ्तार र सङ्ख्या थपिदै गयो । अब, म मा एक किसिमको त्रास पैदा भइसकेको थियो । मनले त्रासको ढ्याङ्ग्रो ठटाउँदै - हरिले थाहा पायो, बाले थाहा पाए, गाउँमा सबैले थाहा पाए ! भन्ने भाव फैलाइरहेथ्यो । जब मान्छेले आफ्नो गल्ती ढाकछोप गर्न सक्दिनँ भन्नेमा विश्वस्त हुन जान्छ तब, ऊ बर्बराउन थाल्दो रहेछ । मैले त्यस्तै गरिरहेथेँ । 
बा, मलाई सशंकित भावभङ्गीमा देखेर विस्फारित दृष्टिले मलाई नै हेरिरहे- एकछिनसम्म । " बिहे भएको पर्सीपल्ट पहिलो श्रीमान कतार उडेछ; उडेको केही दिनमै मृत्युको खबर, महिना दिनमा लाश फर्किएछ । माइतीकी एक्ली, घरकी अलच्छिना बनेकी प्रतिज्ञासित हरिले भेट गराइदियो । त्यसपछि मेरा टुहुरा सपनाहरूले आमा पाए, मेरा अतृप्त भावनाका घट्टाहरूले पानी पाए ।……" बा भुइँतिरै फर्किएर लसुनका केस्रा केलाउँदै बोलिरहे...... 

पहिलो श्रीमानको मृत्यु भइसकेपछिको दोस्रो विवाह गरेको भनिएछ- बालाई, हरिलाई, गाउँलाई, समाजलाई । प्रज्ञासितको चिनजान, कुराकानीमा मैले मेरो गाउँ,घर, परिचय सबै खोलेको थिएँ । तर, मेरो परिचय बीचमा कतैपनि आएनछ, चुहिएन छ । प्रज्ञाद्वारा चुहाइएन छ । महिलाहरू आफ्नो इज्जत दाउमा लगाउने मान्छेलाई पनि यतिसम्म इज्जत गर्दा रहेछन् । मेरो छाती ग्लानीले पानीपानी भयो । म आफैँसामु हरेकपल लज्जित भइरहेँ । मलाई गाउँको आफ्नै घरमा बसिरहन पनि असहज हुन थाल्यो। शहर फर्किएँ ।

शहर फर्किएपछिका केही दिन ग्लानी र पश्चातापमा बिते । फेरि उसैगरी सूर्य उदाइरह्यो, उस्तै वर्षा भइराख्यो, उस्तै बतास चलिरह्यो । दिनचर्या सामान्य बन्दै गयो । पृथ्वी घुम्दै राख्यो, समय बित्दै गयो ; देश उस्तै दौडिईराख्यो- रुमलिईराख्यो । देशको अर्थ-राजनीति नबुझे पनि खुबै गाली गरियो - कसकसका सङ्गतले । मनमनै देशकाप्रतिको सम्मान पनि अन्त्य गरियो । देशलाई 'देश' नठानी विदेश हानिनुमै आफ्नो भलो भएको निष्कर्षलाई सदर पनि गरियो । देशमै नबस्ने भएपछि कोरिया जाने निधो गरेँ र भाषा पढाइका लागि धाउन थालेँ । पढाइकै शिलशिलामा नीता र प्रनिसासित मेरो भेट हुन पुग्यो ।
××××
नीता र प्रनिसा दुवैसँग एकैसाथ एक किसिमको आकर्षण बस्न पुग्यो । त्यसपछि हामी कक्षामा कम र क्लब र पार्कमा बढी भेटिन थाल्यौँ । म जागिर पनि गर्दै थिएँ । दुवैलाई थाहा थियो । दुवैलाई एकैसाथ भेट्न सक्दिनथेँ । कहिले अफिसमै अबेर भएको त कहिले कार्यक्रममा बाहिर पुगेको बहानाले भेटघाटलाई सहज नै बनाइरहेथ्यो- पालोपालो । मैले आफ्नो मोबाइलको 'फर्स्ट स्पेस' को लक नीताको 'फिङ्गरप्रिन्ट' र हामी दुवैले जानेको 'प्याट्रन लक' राखेको थिएँ । वालपेपरमा नीताकै फोटो । नीतासित भेट हुँदा म सधैँ मोबाइलको 'फर्स्ट स्पेस'मा हुन्थेँ । भाइबरमा प्रनिसासितको च्याट भेट्नुपूर्व नै 'हाइड' गरिसक्थेँ । प्रनिसाको 'फिङ्गरप्रिन्ट' ले भने मोबाइलको 'सेकेन्ड स्पेस'मा घर ठड्याएको थियो । वैकल्पिक उपायमा हामी दुवैले जानेको 'प्याट्रन लक' को सुविधा थियो । सेकेन्ड स्पेसको वालपेपरमा प्रनिसाको फोटो राखेको थिएँ । 'सेकेन्ड स्पेस'मा रहेको भाइबर एप्समा भने नीतासितको च्याट 'हाइड' हुन्थ्यो । प्रनिसा सितको भेटमा म सधैँ मोबाइलको 'सेकेन्ड स्पेस' मा हुन्थेँ । यसो गर्दा दुईमध्ये कसैले पनि ममाथि शंका गर्ने अवस्था रहेन । उपत्यकाका दुई-चार महिना यसैगरी चले । इपिएस कोरियाको परीक्षा भयो । नतिजा अपेक्षित नै आयो- तीनै जना फेल ! लगानी भएकैतिर प्रतिफल आउने हो । लगानी बमोजिमको प्रतिफल भने सन्तोषजनक नै थियो । नतिजा बिग्रिएपछि नीता कञ्चनपुर फर्किई । प्रनिसा पूर्वै फर्किई । नीताले बोर्डिङ् पढाउन थालिछ । प्रनिसा सहकारीमा जागिर गर्न । दुवैले विदेशको सपना त्यागिदिए । 
यता, म पनि विदेशको सपना त्यागेर पुरानै जागिरमा रमाउन थालिसकेको थिएँ ।
×××××
नीता र प्रनिसा टाढा भएकाले मलाई अब अलि सहज थियो । एकजनाको फोन आउँदा 'अफिसको काममा छु फोन नगर्नू' भनेर अर्कोजनालाई भन्न सक्थेँ । भाइबर, स्न्यापच्याट्, ट्वीटर हुँदै फेसबुकका लाइक, कमेन्टसम्म पनि हाम्रो सम्बन्धको लहर झाँगिन पुग्यो । स्वार्थप्रेरित सम्बन्धहरू सामुन्द्रिक लहरजस्ता हुँदारहेछन् - घरि छुन्छन् घरि नछोई फर्कन्छन् । घरि घनिष्ठ बन्छन्, घरि अन्जानजस्ता भइदिन्छन् । यस्तै चलिरहेथ्यो ।
×××

एकदिन यत्तिकै फेसबुकको भित्तामा स्क्रोल गर्दै बसिरहेका बखत 'फ्रेण्ड्स'  सेक्सनमा रातो अक्षरमा पिलिक्क अङ्क एक झुल्कियो । ढिला नगरी खोलेँ । मलाई फ्रेण्ड रिक्वेस्ट आएको रहेछ । 'ऋतिका चौहान' लेखिएको नामबाट । प्रोफाइल खोलेर हेरेँ । फोटा स्टाटस समेत देखिए । फेक खाता होइन भन्नेमा विश्वस्त भएपछि रिक्वेष्ट एक्सेप्ट गरेँ । म प्राय: यस्तो गर्छु । 
एकैछिनमा त्यही खाताबाट म्यासेज आयो 'हाई' लेखेर, इमोजी समेतको । 
मैले पनि रिप्लाई गरेँ । सहजै सहजैको क्रममा यस्तो म्यासेज र रिप्लाईको दोहोरी चली नै रह्यो । समय र सन्दर्भले उस्तै वर्षा ल्यायो, उस्तै घाम देखायो, उत्तिकै हावा चलायो, उस्तै छाल उछाल्यो । कुराकानी 'सो कल्ड प्रेम'मा बद्लियो । महिनौँसम्म घण्टौँघण्टा ऋतिकासितै च्याटमा भुल्न थालेर नीता र प्रनिसाको म्यासेज तथा कलको रिप्लाई गर्ने फुर्सद मलाई थिएन । उसो त, ती कलको, ती म्यासेजको मलाई न चासो हुन्थ्यो, न त प्रतीक्षा नै । यात्रा बाँकी रहदासम्म मात्रै रहेछ बटुवालाई बाटोको माया; बाटाप्रतिको चासो र चाह । 
महिनौँ च्याटमा बोलेपनि ॠतिकाले फोनमा बोल्न मानिन । मैले बारम्बार प्रयास गरेँ तर प्रयास विफल भई नै रह्यो । आक्कलझुक्कल भोइस म्यासेज पठाएर आफू केटी नै भएको प्रमाण भने दिईरहन्थी उसले । ऊ आफ्नो अडानमा अडिग थिई - 'भेटेको दिनमा मात्रै अनुहार देखाउने' ! उसले फेसबुकमा राखेका हरेक फोटोहरूमा म लाइक गर्थेँ, कमेन्ट गर्थेँ । ऊ यस्ती छ, ऊ उस्ती छ । उसको कम्मर यति होला, छाती यति होलान् । मैले नापजाँच गरिसकेको थिएँ- फोटोबाटै । मात्रै भिडियोमा हेरेर बोलाबोल भएको थिएन । ॠतिकालाई देख्नकै लागि भएपनि भेटघाटलाई चाँडै निम्तो दिनुपर्ने बाध्यताले मलाई घेर्दै लग्यो ।

कुरैकुरामा मैले एकदिन च्याट्मा लेखेँ- "हामी भेटौँ न !" 
उसले प्रश्न गरी - "कहाँ ?"
- "कुनै क्याफेमा । मलाई तिमीसित कफी डेट जान मन भयो ।"
- "नाइँ हुँदैन । मलाई त लाज लाग्छ, नभेट्ने म त !" 
- "लजाई-लजाई भेट्नुको मज्जै बेग्लै हुन्छ नि ! डन्ट यु नो ?" 
- "खोइ होला ! मलाई त के थाहा र !" 
मैले नभेटी नछाड्ने नै भएपछि ऊ पनि भेट्न राजी भई । भेट्ने निधो गरियो । 
- "भोलि ११:३० बजे, क्यालिबर्न क्याफेमा है त !" 
- "ओके, सी यु सून ।" 
×××
ऋतिकालाई भेट्न जाने दिन । अरूअरू बेलाका शनिबार बिहान १० बजेसम्म नखुल्ने मेरो निद्रा बिहान ५ बजे नै खुल्यो आज । उठेँ । नुहाएँ । कोठामा गणेशजीको सानो मूर्ति राखेको छु । मूर्तिको छेवैमा अगरबत्ती बालेर राखेँ । अगरबत्तीको खरानी टेबलभर पोखिन्छ भनेर मूर्तिको छेउमा कोचिएको अगरबत्तीसहित गणेशजीको मूर्तिलाई कागजको पन्नामाथि राख्न थोरै दायाँतर्फ स्थानान्तरण गरेँ । अगरबत्तीको धूपयुक्त बास्ना कोठाभर रङ्मङ्गियो । कोठा बास्नामय बन्न पुग्यो । 

सबै नित्यकर्म सकेर खाना खाएँ । नेभिफोर्सको घडीले दश बजेको सङ्केत दिइरहेको थियो । किचन छाडेर छेवैमा जोडिएक कोठामा गएँ । म दुईटा कोठा भाडामा लिएर बस्छु । सानो कोठालाई किचेनका रूपमा प्रयोग गरिरहेको छु; अर्को भने बेडरूमका रूपमा । ड्रेस चेन्ज गरेँ । पर्फ्युम छर्किएँ । बाइकको चाबी निकालेँ - ह्याङ्गर छेउको भित्तामा ठोकिएको किलाबाट । म सधैँ हराउने सम्भावना ज्यादा भएका सामानहरूलाई निश्चित स्थानमा राख्ने गर्छु । यसो गर्दा हराउने डर अलि कम हुन्छ । हराइहालेपनि खोज्ने स्थान सीमित र निश्चित हुने हुनाले सजिलै फेला पार्न सकिन्छ । हेल्मेट लगाएँ, जुत्ता लगाएँ । ढोका बन्द गरेर बाहिर निस्किएँं । गेट बाहिर निस्किएर हानिएँ- क्यालिबर्न क्याफेतिर ।

क्याफेमा पुगेर क्याबिन नम्बर १६ बुक गरेँ । यो क्याबिन टेबल भित्रपट्टी र अलिक गोप्य थियो । म यहाँको रेगुलर कस्टुमर पनि भएकाले वेटरहरू मलाई राम्रै चिन्छन् । मेरो अर्डरको प्रवृत्तिको पनि जानकारी छ उनीहरूलाई । म क्याबिन पुग्दा नपुग्दै तातो पानी ल्याएर वेटर मुस्कुराउँदै आयो । मेन्यु तेर्स्यायो म तिर । नियमित अर्डर एउटा अनि बाँकी एकैछिनमा अर्डर गर्छु भनेपछि उसैगरी मुस्कुराउँदै फर्किएर गयो- वेटर ।

मैले खल्तीबाट फोन झिकेर अनलक गरेँ । फेसबुक म्यासेन्जर खोलेर ॠतिकालाई म्यासेज गरेँ - "ह्वेर आर् यू ? आई एम एट् क्यालिबर्न; कान्ट वेट मोर टू सी यू !" लेखेर । उताबाट तुरुन्तै रिप्लाई आयो - "आई एम अन द वे ! विल क्याच् यू इन टू मिनेट्स् !"  म मख्ख परेँ । केही लेखिनँ, केवल पानको पातको इमोजी पठाएर पानी पिउन थालेँ । मोबाइलको स्क्रिन लक भएको थिएन । 
ॠतिकाको म्यासेज ब्लिन्क गर्‍यो - "आर यू फिलिङ बोर्ड अलोन ? सरी ! आई विल मेक यू सक्ड !"
मैले - " ना! आई एम बिइङ एक्साइटिड् टू मिट् यू !" 
लेखेर तत्कालै सेल्फी खिचेर पठाइदिएँ । 
फेरि, थपेँ -" वेटिङ् यू बेब ! अन क्याबिन नम्बर सिक्स्टिन !" 
- " जस्ट अ मिनेट् एन्ड आई विल बि देअर !"  रिप्लाई आयो ।

म रोमाञ्चित मुद्रामा बसिरहेकै बेला  मेरो रेगुलर अर्डरको 'अमेरिकानो सिङ्गल सट' आइपुग्यो । मैले झनै रोमाञ्चित भएर कफीको चुस्की लिएँ, लिइरहेँ । एकैछिनमा क्याबिनको पछिल्लिरबाट आवाज आयो - कोही हिँडेको । मैले ॠतिका आएको लख काटेँ । आवाज आएतिर ध्यान केन्द्रित गर्दै उतै फर्किएँ । पार्श्वतिरबाट नीता र प्रनिसा एकैसाथ मैतिर आइरहेका थिए । ॠतिकाSS चिच्याउन पुगेछु । अझै ऋतिका ? भनेर नीता र प्रनिसा दुवै एकैसाथ कराएको सम्झिन्छु । त्यसपछि एकाएक आँखामा अँध्यारो छायो ।
××× 
अँध्यारो । चकमन्न अँध्यारो ! सबैतिर अँध्यारो छ……

1 Comments

Bhakta Khatri said…
2nd space को काम के हो सो को बारे जानकारी दिनुभएको मा धन्यवाद 😉🤣